Logo

रातारात राजधानी सार्नु गलत: पौडेल



बुटवल, २३ मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालयलगायत संरचनाहरू नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् ।

प्रदेशको राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभाको भएपनि अहिलेको सरकारले विधि प्रक्रिया मिचेर हतारमा मन्त्रालय सार्ने निर्णय गलत भएको बताए ।

बुटवलमा शुक्रबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले संरचना नबन्दै मन्त्रालय सार्ने गलत निर्णय भएको बताए ।

‘गलत निर्णयले गलत परिणाम निस्कन्छ, हेर्दै जानुहोला अब के हुन्छ,’ पौडेलले भने, ‘संरचना नबन्दै तत्काल मन्त्रालय सार्ने काम गलत र त्रुटिपूर्ण छ ।’

रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले आफ्नो पार्टीले जनादेशको सम्मान गर्ने भएकाले यसपटक प्रतिपक्षमा बस्ने बताएका छन् । चुनावको जनादेशले एमालेलाई बहुमत नदिएकाले प्रतिपक्षमा बस्ने बताए ।

कम्तीमा बहुमत र ठूलो पार्टी बन्छौँ भन्ने एमालेको अपेक्षा पूरा नभएको बताउँदै उनले कर्नरमा पार्न सत्तामा रहेका दलहरूले गठबन्धन गरेकाले केही सिट कम आएर दोस्रो बन्न पुगेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्