काठमाडौँ, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।
शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।
तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।
भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।