Logo

रातो मच्छिन्द्रनाथको रथयात्रा लम्बियो



काठमाडौँ, २० वैशाख । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । मंगलबार रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो ।

आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ । विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ ।

सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यस दिन रथलाई थपाहितिसम्म मात्र तान्न सकिएको थियो । थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो । त्यस दिन रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो ।

हिजो रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्याउन सकेको थियो । जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ । आज पनि मर्मत गरेर लगनखेल पुर्याउन रथ तान्नको लागि तयारी भएको छ । यस वर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्