Logo

राधिका नभएको भए म अहिलेसम्म बाँच्न सम्भव थिएन : प्रधानमन्त्री ओली



काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी पत्नी राधिका शाक्यको किताब ‘करुणा’को लोकार्पण समारोहमा राधिकाका विभिन्न इच्छा र आकांक्षाबारे खुलासा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले पत्नी राधिकाको पुस्तक पूर्णतया सत्यमा आधारित रहेको बताउँदै यसलाई २४ क्यारेट शुद्ध सुनसँग तुलना गर्नुभयो । ‘मैल कहिले कुनै संस्मरण लेख्दा कथानक पनि मिसाइदिन्छु । तर, य किताब केही नमिसिएको २४ क्यारेट हो । यो किताब सत्यमा आधारित छ । यसको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन । यसको साथी म पनि छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

३७ वर्षको दाम्पत्य जीवनका क्रममा राधिकाका केही अभिव्यक्त नगरिएका चाहनाहरू रहेको कुरा किताब पढेपछि मात्र थाहा पाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘उनको (राधिकाको) मसँग पनि केही डिमान्ड रहेछन्, भित्रभित्रै । केही इच्छा रहेछन् । यसो गरिदिए हुन्थ्यो, उसो गरिदिए हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जन्मदिनमा फूल दिऊँ भने भोलिपल्ट थाहा हुन्छ । सम्झेर दिए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो । भनिदिए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो । ३७ वर्षदेखि हामीबीच यस्तै चल्दै आयो ।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य र जीवनमा पत्नी राधिकाको महत्वपूर्ण योगदान रहेको भावुक प्रसंग पनि सुनाउनुभयो । ‘राधिका नभएको भए म अहिलेसम्म बाँच्न सक्ने थिइनँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई आँगनको माथिल्लो भागमा रहेको मठमा हुर्काइएको तुलसीसँग तुलना गर्दै भने, ‘जब म बिरामी हुन थालेँ । त्यसपछि उनले मेरो जन्मदिन भव्यताका साथ मनाइदिन्छन् । राधिका नहुने हो भने म अहिलेमसम्म बाँच्न सम्भव थिएन । वास्तवमै थिएन । आँगनको माथिल्लोपट्टि मठ बनाएर हरेक विहान–बेलुका हुर्काएर तुलसीजस्तै बाँचेको मान्छे हुँ म । जंगलको तितेपातेजस्तो होइन, जतनले बाँचेको मान्छे हुँ । आज ७३ पुगेँ । भोलि ७४ लाग्छु ।’

७३ वर्षीय प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा चुनौतीहरू रहेको बताउँदै भन्नुभयो, ‘मलाई बचाउन सजिलो छैन, अलिक गाह्रो नै छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन पत्नी राधिकाले भव्यताका साथ मनाइदिने गरेको र यस्ता क्षणहरूले जीवनमा विशेष अर्थ थप्ने गरेको पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्