बाँके, २० असोज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन ।
अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।
बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् ।
अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्तीनदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।






