झापा, २८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ।
आज बिहान सम्पन्न कार्यक्रममा साबिक कुमोरखोद गाउँ विकास समिति वडा नम्बर–५ का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नगर सदस्य अनन्त राजवंशी, गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट झापा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार पवित्रा देवी राजवंशीलगायत ५० जनाभन्दा बढी व्यक्तित्वहरू राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो ।
नवप्रवेशीहरूलाई पार्टी प्रवक्ता तथा सांसद भक्ति सिटौलाले स्वागत गर्दै देश निर्माण र राष्ट्रियता संरक्षणका लागि सबै शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले अबको अभियान देश बचाउने र सशक्त राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो।
कार्यक्रममा सहभागी नवप्रवेशीहरूले वर्तमान राजनीतिक अवस्थाबाट असन्तुष्टि व्यक्त गर्दै राप्रपाको नीति, सिद्धान्त र राष्ट्रिय एजेन्डाबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको प्रतिक्रिया दिएका थिए।








