
बिर्तामोड, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
नगरका जल्दाबल्दा समस्यालाई लिएर राप्रपाको बिर्तामोड नगर समितिले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको हो ।
हालै बृद्धि गरिएका मालपोत कर, एकीकृत सम्पत्ति करलगायतका करहरूको अबिलम्ब समायोजन गरिनुपर्ने, प्रतिलिपि शुल्क (जन्म दर्ता,विवाह दर्ता सामाजिक सुरक्षा भता कार्ड)जस्ता विषयमा निःशुल्क व्यवस्था गरिनुपर्ने, साउन १ गतेदेखि फोहोर उठ्न नसकी शहर दुर्गन्धित भएर विभिन्न रोगहरुको प्रकोपको संभावना बढेको अवस्थालाई मुख्य प्राथमिकतामा राख्दै चाँडोभन्दा चाँडो फोहोर हटाइनुपर्ने, फुटपाथ व्यवसायीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, नगरमा सार्वजनिक शौचालयको तुरुन्त व्यवस्था गरिनुपर्ने ,नगर अस्पताललाई अत्यावश्यक सुविधासहित संचालन गरिनुपर्ने, कक्षा १२ सम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा प्रदान गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थागत विद्यालयले लिँदै गरेको चर्को शुल्क शिघ्र अनुगमन गरी उचित शुल्क लिने ब्यबस्था गरिनुपर्ने, सामुदायिक र संस्थागत विद्यालयले छात्रवृत्ति दिने प्रक्रिया पारदर्शी बनाइनुपर्ने, विराट आधारभूत विद्यालयमा भएको अनियमितताको छानबिन गरी दोषीलाई कार्वाही गरिनुपर्ने, गत वर्षको हावाहुरीले नष्ट गरेको धानबालीको किसानलाई दिने भनिएको क्षतिपूर्तिको रकम तुरुन्त दिनुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज गर्न जेष्ठ नागरिक तथा अशक्तहरुलाई घर-घरमा पुयाउने व्यवस्था गरिनुपर्ने र नगरक्षेत्रभित्र बढेका लागूपदार्थ दुव्र्यसनीहरुलाई निरुत्साहित गर्न जनमुखी कार्यक्रम लागू गरिनुपर्ने माग गरिएको हो ।
राप्रपा क्षेत्र नं २ प्रदेश ‘क’ समिति अध्यक्ष शंकर रिजाल र नगर अध्यक्ष रन्जु प्याकुरेलको नेतृत्वमा नारा जुलुशसहित गएको टोलीले कार्यालयमै गएर नगर प्रमुख प्रसाईलाई ज्ञापनपत्र बुझाएको थियो ।






