काठमाडौँ, ५ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा संसदीय दलका नेता राजेन्द्र लिङ्देन साउदी अरब गएका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा उनी मंगलबार साउदी अरब गएका हुन् ।
अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा त्यहाँका प्रमुख शहरहरू जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
लिङ्देन राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्नुका साथै प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा पनि सहभागी हुने प्रवक्ता श्रेष्ठले बताए ।
अध्यक्ष लिङ्देन उतैबाट युएई जाने कार्यक्रम छ ।
प्रवक्ता श्रेष्ठका अनुसार युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग अध्यक्ष लिङ्देनले भेटघाट गर्ने, राजदूतावासका अधिकारीहरूसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।







