काठमाडौं, १६ पुस । राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक यही पुस १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावि कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेश हुनेछ । उहाँले अहिले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र रहेको भन्दै त्यसको विकल्प आन्दोलन भएकाले बैठकमा सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरु एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइनेसमेत बताउनुभयो। स्थानीय तहहरुको अधिवेशन, भातृ संगठनहरुको क्रियाशिलताका बारेमा पनि बैठकमा छलफल हुने उहाँको भनाइ छ ।
यसैगरी, बैठकमा पुस २७ गते राष्ट्रिय एकता दिवस भव्यतापूर्वक मनाउनेसमेत निर्णय हुने बताइएको छ ।