Logo

राप्रपा र राप्रपा नेपालबीच पुनर्मिलन, एकता महाधिवेशनका संरचना यथावत रहने



काठमाडौं, १६ पुष । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा औपचारिक एकता घोषणा गरिएको छ। कार्यक्रममा दुवै नेताले ६ बुँदे एकीकरण–आधारपत्रमा हस्ताक्षर गर्दै पार्टी एकतामा सहमति जनाए।

आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म–सापेक्ष हिन्दू राज्य, राजसंस्थायुक्त लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पार्टीको मार्गदर्शक सिद्धान्त हुने उल्लेख गरिएको छ।

सहमति अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नै पार्टी अध्यक्ष रहनेछन्, भने एकता महाधिवेशनबाट निर्वाचित भएर पछि राप्रपा नेपालतर्फ गएका पदाधिकारीलाई पहिलेकै जिम्मेवारीमा फर्काइने व्यवस्था गरिएको छ। स्थानीय तहदेखि केन्द्रीय तहसम्मका संरचना सम्मानजनक समायोजनसहित अघि बढाइने सहमति पनि आधारपत्रमा समेटिएको छ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले कमल थापा फर्किएपछि पार्टी थप पूर्ण र बलियो भएको प्रतिक्रिया दिए। उनले विचार र सिद्धान्तमा स्पष्टतासहितको विकल्प आजको नेपालको आवश्यकतासँग सम्बन्धित भएको उल्लेख गरे।

त्यसैगरी कमल थापाले यो प्रक्रियालाई “एकता भन्दा पनि पुनर्मिलन”को रूपमा अर्थ्याउँदै आफू आफ्नै घर फर्किएको अनुभूति भएको बताए। उनले पार्टीका मुद्दा स्थापित गर्न आन्दोलन आवश्यक रहेको धारणा राखे।

कमल थापा २०७८ मा भएको महाधिवेशनमा पराजित भएपछि पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए, जसले अब पुनः एकीकृत संरचनामा आवद्धता जनाएको हो।

प्रतिक्रिया दिनुहोस्