Logo

रामेछापमा कारागार तोडेर कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलायो, २ जनाको मृत्यु



रामेछाप, २६ भदौ । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बिहीबार बिहान कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउनुपरेको बताउनुभयो।

‘गोली लागेर २ पुरुष कैदीको मृत्यु भएको छ’, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, ‘उनीहरूको परिचय अहिले खुलिसकेको छैन।’

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घटना बिहीबार बिहान ७ बजेतिरको हो।

कैदीबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो।

साथै गोली लागेर १२ जना कैदीबन्दी घाइते पनि भएको उहाले जानकारी दिनुभयो।

‘बाहिर ननिस्कनुस् गोली चल्न सक्छ भनेर जति सम्झाउँदा पनि नमानेर निस्केपछि बाध्य भएर गोली चलाउनुपरेको हो’, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो।

अहिले कारागार सुरक्षाकर्मीले नियन्त्रणमा लिइकेको उनले बताउनुभयो।

कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए।

जेनजी आन्दोलन उग्र बनेपछि मंगलबार राति १० बजेदेखि देशको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्