काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरेका हुन् ।
उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । कांग्रेस नभए देश गृह युद्धमा फस्ने उनको दाबी छ ।
‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छ पर्छ । कि धार्मिक, कि जातीय, कुनै न कुनै अतिवादमा पर्छ । कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । थापाले भने‚ ‘अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ ।’
महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरुले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने पनि बताए। पार्टीका बलमा सत्तामा पुगेकाले काम गर्न नसकेको अवस्थामा प्राइभेट कम्पनीजस्तो ठाउँ ओगटेर बस्न नहुने बताएका हुन् ।
महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट चुनावका उम्मेदवार छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने भन्दै सो प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरेका थिए । उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरे पनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।







