काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन: उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए ।
प्रधानमन्त्रीले भने, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।” उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारेका थिए ।
उनले भने, “कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।”
उनले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताए ।
“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ”, उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।







