Logo

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती, विविध कार्यक्रमका साथ मनाइँदै



काठमाडौं, २७ पुष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज राष्ट्रिय एकता दिवसका रूपमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहले नेतृत्व गरेको एकीकरण अभियानले आधुनिक नेपालको आधार तयार पारेको स्मरणस्वरूप विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रम आयोजना गरिएका छन्।

जन्मजयन्तीको अवसरमा राजधानीस्थित सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरिएको छ। यस्तै, नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ, जसमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ। शाहको जन्मभूमि गोरखामा पनि प्रत्येक वर्षझैँ यस वर्ष पनि विशेष कार्यक्रममार्फत पृथ्वी जयन्ती मनाइँदैछ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनसहभागिताको बलमा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गरेका थिए। २० वर्षको उमेरमा गद्दी आरोहण गरेका शाहले आन्तरिक तथा बाह्य चुनौतीको सामना गर्दै एकीकरण अभियान अघि बढाएका थिए। विसं १८३१ मा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो।

राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र पहिचानलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई मजबुत बनाउने सन्देश दिन्छ। व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने शिक्षालाई आत्मसात् गर्दै सशक्त र समावेशी राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणा दिने यस दिवसको विशेष महत्व रहेको छ।

शाहका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा सान्दर्भिक मानिन्छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्