काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ ।
बुधवार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उहाँहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको तर्क गरेका थिए ।
उनले भने, ‘हामीले सर्वसम्मत ढङ्गले राष्ट्रपतिको चुनावमा सहभागी नहुने निर्णय गरेका छौँ । राष्ट्रपतिलाई संविधानले संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, निष्पक्ष संस्थाको रूपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नुभएका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको, दुवै जना भर्खरै एक-एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँहरूबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौँ । त्यस कारण चुनावमा हामी तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौँ ।’







