कास्की, ७ फागुन । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए ।
“कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ”, गुरुङले भने, “संविधानले पनि साझा र दलगतभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ ।”
राजनीतिक पार्टीका व्यक्ति राष्ट्रपतिमा चुन्दा पटकपटक धोखा खानु परेकाले स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाइ उनको छ ।
“स्वच्छ छवि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तावक जुन दल पनि हुनसक्छ”, उनले भने- “संविधानलाई भताभुङ्ग गरेर आफू निकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यस अघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौँ ।”







