Logo

राष्ट्रपतिको कदम नसच्चिएसम्म सदन चल्दैन: बर्तौला



काठमाडौँ, २१ जेठ । आज बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौला राष्ट्रपतिको असंवैधानिक कदम नसच्चिएसम्म संसद् चल्न नसक्ने बताउँछन् ।

सभामुखको पहलमा सहमतिको प्रयास जारी रहे पनि एमालेले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम नसच्चिएसम्म संसद् चल्न नदिने अडान राखेको छ । उसको अडानका कारण बिहान ११ बजेका लागि डाकिएको बैठक अझै सुरु हुन नसकेको हो ।

“हामी छलफलमै छौँ । सभामुखको पहलमा छलफल जारी छ,” बर्तौलाले भने, “राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण गर्ने असंवैधानिक कदम फिर्ता नभएसम्म संसद् चल्न सक्दैन ।”

उनले राष्ट्रपतिको कदम संसद्को विशेषाधिकारमाथिको हस्तक्षेप भएको बताए ।

“प्रधानमन्त्रीले पनि संसद्को अधिकार क्षेत्र हनन् गर्ने गरी सिफारिस गर्नु हुन्थेन,” बर्तौलाले भने, “राष्ट्रपतिको कदम पनि संसद्को विशेषाधिकारमाथिको ठाडो हस्तक्षेप हो ।”

प्रतिक्रिया दिनुहोस्