काठमाडौँ, १३ माघ । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन् ।
माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए । ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री पनि ओली (केपी ओली) जी नै हुने । त्यसपछि के होला रु त्यसैले हामीले अहिल्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले बैठकमा भोलिको शक्ति सन्तुलनबारे कुरा उठाएको स्थायी कमिटीका अर्का सदस्य राम कार्कीले बताए । कार्कीले भने, ‘बैठकमा विगतको गठबन्धन टुट्नुका कारण, वर्तमान गठबन्धन बन्नुका कारण र भविष्यको राजनीतिक सम्भावनाबारे अध्यक्ष कमरेडले कुरा राख्नुभयो ।’ कांग्रेसले सहमति पालन नगर्दा पुरानो गठबन्धन टुटाएर नयाँ बनाउनुपरेको कुरा दाहालले बैठकमा राखेका थिए ।
नयाँ गठबन्धन पनि सहज नभएको दाहालले बताएका थिए । ‘नयाँ गठबन्धन पनि स्वाभाविक रूपमा दसतिर फर्किएका दलहरूको छ । खँदिलो भइसकेको छैन । यसमा चुनौतीसँगै अवसर पनि छन् भन्ने कुरा अध्यक्षले राख्नुभयो,’ कार्कीले भने, ‘लोकतन्त्रका सबैजसो पिलर सभामुख, प्रधानमन्त्री, राष्ट्रपति र न्यायालयमा एकै पार्टीको उपस्थितिभन्दा पनि सबैको शक्ति सन्तुलन हुनुपर्नेतर्फ उहाँको विशेष चासो र चिन्ता छ ।’
राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारलाई रोक्न माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’लाई जोड दिएको छ । प्रधानमन्त्री दाहालले पार्टी स्थायी कमिटी बैठकमा यही कुरामा बढी जोड दिए । स्थायी कमिटी सदस्य कार्कीका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा अहिले सबै पार्टीले आफूलाई विश्वासको मत दिएकाले सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने दायित्व रहेको बताएका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।







