सुनसरी, २० माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् ।
नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्कसमेत गरेका हुन् ।
सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए ।
उनले भने, ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन । र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ । त्यो व्यक्तित्व नेपाली काँग्रेस भित्रनै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु । त्यही कारणले हामीले प्रतिनिधिसभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दाखेरी हामीले विश्वासको मत दिएका हौँ । म यहाँबाट भन्न चाहन्छु-नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ । नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन । नेपाली कांग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ ।’







