Logo

राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ: पुन



काठमाडौँ, १६ भदौ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको पुनले बताए ।

उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषलाई बराबारी गर्न संविधान संशोधन गर्नुपर्ने औंल्याएका हुन् ।

संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपथ्र्यो भन्नु जायज नभएको तर्क उनको छ ।

नेपाली पुरुषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरुष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उनले उल्लेख गरे ।

अहिले बाहिर सार्वजनिक बहस भएको र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि त्यो संबोधन गर्न संविधान संशोधन गर्नैपर्ने पुनले स्पष्ट गरेका हुन् ।

“नेपाली पुरुषले विदेशी महिला विवाह गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानमा छ,” त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरका विद्यार्थीलाई भिजिटिङ फ्रोफेसरका रुपमा बिहीबार कक्षा लिएका पुनले भने, “नेपाली महिलाले विदेशी पुरुष विवाह गरेर ल्यायो भने के गर्ने भन्ने व्यवस्था छैन । अहिले बाहिर सार्वजनिक बहस भएको छ । संविधानमा नभएको कुरा कानूनमा ल्याउन सकिँदैनथ्यो ।”

प्रतिक्रिया दिनुहोस्