काठमाडौँ, २२ फागुन । नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ ।
ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।
अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उनले राष्ट्रपतिको चुनावमा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको दाबी गरेका थिए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए ।
यस्तै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा पहिलो दायित्व संविधानको रक्षा गर्ने बताएका हुन् ।
अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझीलगायतका नेताहरूकाे सहभागिता रहेकाे थियो ।