काठमाडौं, १७ माघ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा निस्कँदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले माघ २१ गतेसम्म जापानमा रहने कार्यक्रम तय भएको छ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा जान लागेका हुन्। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार उनी नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत आइतबार राति ११:३० बजे जापान प्रस्थान गर्नेछन्।
भ्रमणको क्रममा माघ १९ गते राष्ट्रपति पौडेलले जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ। माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने तालिका तय भएको छ। सोही दिन जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसैगरी, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग शिष्टाचार भेट, जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि राष्ट्रपति पौडेल सहभागी हुनेछन्।
भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते नेपाल एयरलाइन्सको उडान नम्बर ४३४ मार्फत दिउँसो ४:३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणमा उनकी धर्मपत्नी सविता पौडेल र उच्चस्तरीय सरकारी अधिकारीहरूको पनि सहभागिता रहनेछ।







