काठमाडौँ, २४ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए ।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका राष्ट्र र नेपाली महिलाहरूको लागि गर्वको विषय भएको बताए ।
“महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ । त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने देखिन्छ,” अध्यक्ष ओलीले भने ।







