काठमाडौँ, ९ असोज । नागरिकता विधेयक सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँच वटा मुद्दाको प्रारम्भीक सुनुवाइ आज हुन लागेको हो ।
शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो । शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरु सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन् ।
रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।







