Logo

राष्ट्रपति र उपराष्ट्रपति चुनावको आवश्यक प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भए बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि दलहरुले छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै उनले आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आउँदो फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगाडि नै चुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने तथा प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्