Logo

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री



काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका हुन्  ।

प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको बताए ।

“नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणमा युवाको महत्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्रीले भने, “साहस, सृजनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदार मानिन्छ ।” प्रधानमन्त्रीको निजी सचिवालयअनुसार युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सबल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध हुने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालका विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयमा ज्ञान आर्जन गर्नाका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरेका थिए ।

उनले भने, “तालिमबाट प्राप्त ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्