Logo

राष्ट्रसंघदेखि रास्वपा, बालेनसम्मलाई राजसंस्था पुनःस्थापनाको आन्दोलनमा समर्थन गर्न आग्रह



काठमाडौं, ७ जेठ । राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन संयोजन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनमा सहभागिताका लागि विभिन्न राजनीतिक दल तथा व्यक्तिलाई आग्रह गर्नुभएको छ।

सुवेदीले रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहितलाई जेठ १५ गतेदेखि गर्न लागेको आन्दोलनमा सहभागिताका लागि आग्रह गर्नुभएको हो।

सुवेदीले रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई सम्बोधन गर्दै आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभएको छ। पत्र रास्वपा पार्टी कार्यालयमा दर्ता भएको छ। कार्यवाहक सभापति अर्यालले पत्रबारे पार्टीमा छलफल गर्ने जवाफ दिएको राप्रपाका एक नेताले जानकारी दिएका छन् । बालेनलाई गरिएको आग्रहबारे जवाफ आइनसकेको आन्दोलन संयोजन समितिले जनाएको छ।

यस्तै राजसंस्था, हिन्दू धर्म सापेक्ष राष्ट्रको पक्षमा आन्दोलन चर्काउन लागेको सुवेदी नेतृत्वको संयोजन समितिले संयुक्त राष्ट्रसंघसहितका अन्तराष्ट्रिय संघ संस्थालाई पनि सहयोगका आह्वान गरेको छ।

सुवेदीले नेपालस्थित राष्ट्रसंघका प्रतिनिधि, युरोपेली युनियन, सार्क, एम्नेष्टि इन्टरनेशनललगायका संख्यालाई आफ्नो आन्दोलनबारे जानकारी गराउनु भएको हो। आन्दोलनबारे जानकारी दिँदै उहाले नेपालको सवालमा नेपाली जनताको आवाज सुन्न, बेथिति र विधिहिन तरिकाबाट आएको परिवर्तनलाई मान्यता नदिन ध्यानाकर्षण गराउनु भएको छ।

जेठ १५ गते हुने आन्दोलनलाई प्रभावकारी बनाउन जनआन्दोलन संयोजन समितिले जेठ ९, १० र ११ गते जागरण अभियान सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्