Logo

राष्ट्रियताको रक्षाका निम्ति अग्रपङ्क्तिमा छु: प्रधानमन्त्री



काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताएका छन् ।

ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका हुन् ।

सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्