काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कार्यकक्षमा मंगलवार पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रियसभा सदस्यका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेका दाहाललाई सत्ता गठबन्धनको साथ रहेको थियो । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् । नवनिर्वाचित अध्यक्ष दाहालले ३९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सांसद युवराज शर्माले १७ मत पाएका थिए ।
दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।
शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै दाहालले राष्ट्रियसभा अध्यक्षको पदभार सम्हाल्नुअघि सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए । ।





