काठमाडौँ, २७ फागुन । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गरेकी हुन् ।
उनले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् । बैठकमा बोल्दै उनले भन्नि, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि २०८० फागुन २९ गते मंगलबारका दिन तोकिएको छ । साथै नियमावली बमोजिम सङ्घीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो । प्रतिनिधि सभामा पहिलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मिति सार्न प्रस्ताव गरेको थियो ।





