कम्बोडिया, १८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गरेका छन् ।
सोमबार दिउँसो सिनेट कार्यालय, रातोघरमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा गर्दै कम्बोडिया र नेपालले संयुक्त राष्ट्रसंघ, आइपियु लगायतका निकायमा हुने प्रतिनिधित्व र मुद्दामा समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरेका हुन् ।
उनले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिको गर्नुपर्ने उल्लेख गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू हुने आशासमेत व्यक्त गरे भने व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए ।
त्यस्तै, कम्बोडियन सिनेटका अध्यक्ष सुमले दुइ देशबीच १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुइ देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्नेसमेत प्रतिवद्धता व्यक्त गरेका थिए ।