आयरल्यान्ड, १० कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्यान्डको माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औं महासभाका क्रममा एंगोलाको संसद् भवनमा भेटवार्ता भएको हो ।
भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्यान्डबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद् र संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताए । “नेपाल र आयरल्यान्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद् र संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ,” उनले भने, “संसदीय अनुभवको आपसी आदनप्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ ।”
भेटवार्ताका क्रममा आयरल्यान्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाएका थिए ।
नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्यान्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको उनले बताए ।






