काठमाडौँ, २८ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित भएकी छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
उपाध्यक्ष घिमिरेको पक्षमा ३९ मत र विपक्षमा १६ मत खसेको थियो । उनको पक्षमा बहुमत मत परेको भन्दै अध्यक्ष दाहालले निर्वाचित भएको घोषणा गरेका थिए । सभा बैठकमा ५५ सांसदको उपस्थिति रहेको अध्यक्ष दाहालले जानकारी गराएका थिए । राष्ट्रिय सभामा कुल ५९ जना सांसद छन् ।
घिमिरेसँग नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा १६ मत र विपक्षमा ३९ मत परेको थियो । उनको पक्षमा बहुमत नआएको अध्यक्ष दाहालले बैठकलाई जानकारी गराएका थिए ।