Logo

राष्ट्रियसभा निर्वाचनमा नयाँलाई अवसर दिउँ ः उपसभापति गुरुङ



काठमाडौँ, २७ मङ्सिर । कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पार्टीले नयाँ अनुहारहरूलाई प्राथमिकतामा राखेर अवसर दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन नजिकिँदा उम्मेदवारीका लागि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित भएका र समानुपातिकमा उम्मेदवार बनिसकेका नेताहरूबीचमै दौडधूप चलिरहेका बेला उपसभापति गुरूङले यस्तो बताएका हुन् । बुधबार बत्तीसपुतलीमा बसेको संस्थापनइत्तर समूहको बैठकमा समेत त्यसबारे छलफल भएको उनले बताए ।

‘राष्ट्रिय सभाको चुनावमा नयाँ अनुहारलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउनुपर्छ भन्ने कुरा उठेको छ, पटक-पटक अवसर पाएकाहरूलाई छोडेर अब नयाँ मान्छेहरूलाई मौका दिनुपर्छ,’ गुरूङले अघि भने, ‘पार्टीको महासमिति बैठक अब सार्नु हुँदैन, सार्नु सान्दर्भिक हुँदैन ।’

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित पटक-पटक संसदीय राजनीतिमा आइसकेका नेताहरु नै फेरि संसद् छिर्ने माध्यम बनाउने प्रयासमा छन् ।

उपसभापति गुरूङले समूहको बैठकले तोकिएकै समयमा महासमितिको बैठक गर्न सभापतिलाई सुझाव दिने निष्कर्ष निकालेको बताए ।

प्रतिक्रिया दिनुहोस्