Logo

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेसँग तालमेल नगर्ने



फायल तस्बिर

काठमाडौँ, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठाबन्धनले प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । गठबन्धनको आज भएको बैठकले एमालेसँग तालमेल गर्न नसक्ने निष्कर्ष निकालेको हो । गठबन्धनको आज साँझ बस्ने बैठकले कुन दललाई कति स्थान दिने निष्कर्ष निकाल्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको र आजै साँझ बस्ने अर्को बैठकले निष्कर्ष निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले जानकारी दिए ।

साँझको बैठकमा सत्ता साझेदार सबै दललाई आमन्त्रण गरिएको छ । यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग पनि मिलेर जाने विषयमा छलफल भएको उनले बताए ।

एमालेले राष्ट्रियसभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ । एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताए ।

नेता लेखकले भने,“बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन ।”

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको सहभागिता थियो ।राष्ट्रियसभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्