काठमाडौँ, २० पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइआएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरिएको उनले बताए ।
त्यसैगरी बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरु कोशीबाट तुलसीप्रसाद न्यौपाने, वागमती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशको रामअवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
त्यस्तै लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरेको महासचिव पोखरेलले बताए ।
त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालको भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाएको छ । त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।







