
काठमाडौँ, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक सिटमा विजयी भएको छ ।
बिहीबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो ।
राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन् ।
मधेस प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा )माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै नेपाली कांग्रेसका पदमबहादुर परियार, नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।







