Logo

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित



जनकपुरधाम, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन् ।

आज साढे ४ बजे सम्पन्न मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरेका हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरेका थिए ।

त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गरेकी हुन् ।

नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गरेका हुन् ।

त्यसैगरी, महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गरेकी थिइन् । यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्