धनगढी, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा (एमाले) का उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार सत्तारुढ गठवन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गरेकी छन् ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरु नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का ईन्दु कडरियाको पदावधि सकिन लागेको हो ।







