Logo

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै



काठमाडौं, २३ पुष । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभरका प्रदेश कार्यालयमार्फत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। आगामी माघ ११ गते हुने तय भएको निर्वाचन मार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्य पदका लागि मतदान हुने छ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली सार्वजनिक गरेको थियो भने मंगलबार दाबी–विरोधसमेत समेटेर अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते नाम फिर्ता लिन सकिने र सोही दिन अन्तिम नामावली प्रकाशित गरिनेछ। यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १८ सदस्यको पद रिक्त हुने भएकाले निर्वाचन प्रक्रिया सुरु गरिएको हो। आयोगका अनुसार राष्ट्रिय जनगणना २०७८ को आधारमा मतदाता र मतभार निर्धारण गरिएको छ। यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्।

प्रतिक्रिया दिनुहोस्