काठमाण्डौ, १२ माघ । राष्ट्रिय गौरवको जोगवनी–किमाथाङ्का सडक पर्सि सोमवार ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिने अन्तिम तयारी भएको छ । सडक छिचोलिएपछि सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक जोडिने छ ।
कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको छ । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिजो हिमालय माविको हिरक महोत्सवको उद्घाटनका अवसरमा जोगवनी–किमाथाङ्का सडक छिचोलिएसँगै सडकको स्तरउन्नति र चौँडा बनाउने काम गरिने बताउनुभएको छ ।
सदरमुकाम खाँदबारीबाट च्याम्ताङ्गसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडकको दूरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।