सुर्खेत, २५ पुस । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो । एपीएफले पहिलो सेट २५-२३, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१५ ले हराएको हो ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१९ ले हराएको छ ।
नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीवार दिउँसो १ बजे हुनेछ ।