
काठमाडौँ, १२ भदौ । सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताएका हुन् ।
“नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय-समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढङ्गले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस्”, पुनले संसद्मा भने ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै पुनले त्यही रुपले आपसी सद्भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने पनि बताए । विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, सङ्घीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको र यो समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा पनि पुनले जोड दिए । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुपनुपर्ने उनको भनाइ छ । नेपालको संविधान, विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको परिपालनामा प्रतिबद्ध हुनुपर्नेमा पनि पुनले सरकारको ध्यानाकर्षण गरेका थिए ।
उनले सुशासन, समृद्धि र सामाजिक न्यायको नीतिको परिपालनाका लागि पनि जोड दिए । यसका लागि सरकारले चालेका कदमलाई सबै पक्षबाट सहयोग र समर्थन गर्न पनि उनले आग्रह गरेका थिए ।
सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउन राज्यशक्तिको दुरुपयोग हुन नहुने पनि उनले उल्लेख गरे । कसैलाई आग्रह र पूर्वाग्रह राखेर सरकारले काम गर्न नहुने उनको भनाइ छ ।







