काठमाडौँ, २० पुस । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई छ सिट दिन प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू सहभागी बैठकमा यस्तो प्रस्ताव गरेको हो । राष्ट्रिय सभामा मनोनीतसहित २० सिट रिक्त हुँदै छन् ।
संसदीय समितिमा समेत सहकार्य गरेको एमालेले राष्ट्रिय सभा चुनावमा समेत सत्ता गठबन्धनसँग सहकार्य गर्ने नीति लिएको छ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले एमालेले छ सिट दिन प्रस्ताव गरेको विषय बैठकमा ब्रिफिङ गराएको बताए । पाण्डेले भने, “हामीले एमालेलाई छ सिट किन दिनुर्यो भनेर प्रश्न गर्यौँ ।” एमालेले टिआरसी विधेयकलाई देखाएर कुरा फेर्ने गरेको बताउँदै उनले शुक्रबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबाट टिआरसी विधेयक सर्वसम्मत रूपमा पारित भए मात्रै राष्ट्रिय सभामा सहकार्य गर्नुपर्ने जिकिर गरे ।
बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबै सेक्टरमा सहकार्य गर्न एमाले तयार भए राष्ट्रिय सभा चुनावमा भागबन्डा दिने गरी छलफल भएको प्रस्ट पारे । “एमालेले सहमति गरेर जाऊँ भनेको हुनाले सत्ता गठबन्धनमा छलफल जारी छ । यसरी एमालेले सहकार्य गर्न प्रस्ताव गरेपछि नगर्ने भन्ने हुँदैन । चुनाव मात्रै नभएर सबै सेक्टरमा सहकार्य गर्नु पर्छ,” उनले भने, “सदनदेखि टिआरसी विधेयकका काममा सहकार्य गरेर जानु पर्छ । सबै पाटा र पक्षमा सहकार्य गर्नु पर्छ ।”
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने राष्ट्रिय सभा चुनावलाई लक्षित गरी चार पार्टीका नेताहरू बसेर छलफल गरेको मात्र प्रतिक्रिया दिए । राष्ट्रिय सभा चुनावका विषयमा भागबन्डा नमिलेको बताउँदै उनले छलफल गर्न बाँकी भएकाले शुक्रबार पुनः छलफल हुने बताए । लोकतन्त्रमा सबै दलसँग संवाद हुने बताउँदै उनले एमालेसँग समसामयिक विषयमा मात्रै छलफल भएको जिकिर गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







