काठमाडौँ, २० जेठ । राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ ।
सांसद कमला पन्तले पेश गरेको सो सङ्कल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।
प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश कुमार आलेले सङ्कल्प प्रस्तावको समर्थन गर्दै अपराधको मुख्य कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा जोड दिनए । अर्का सांसद भैरव सुन्दर श्रेष्ठले संविधानसँग बाझिएका ऐनहरु संशोधन गर्दै बाल यौन हिंसा जस्ता अपराधलाई जघन्य अपराधको रुपमा लिनुपर्ने बताए ।
त्यस्तै सांसद सुमित्रा विसीले महिलाहरु आफ्नै घरभित्र असुरक्षित रहेको सन्र्दभ उल्लेख गर्दै बाल यौन हिंसाबारे कडा कानुनको व्यवस्था गर्नुपर्ने माग गरेकी थिइन् । सांसद गोमादेवी तिमिल्सिनाले अपराधी नछुट्ने र निर्दोष नफ्स्ने गरी यौन अपराध सम्वन्धी कानुनको संशोधन गर्नुपर्ने बताइन् ।







