काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २० गतेदेखि रिक्त हुन लागेको कूल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूह अन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले उक्त समूहको पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको पुष्टि गरेको हो।
आयोगका अनुसार बाँकी १७ पदका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म देशका सातै प्रदेशमा एकैसाथ मतदान हुनेछ। मतदान प्रक्रिया प्रदेशगत रूपमा तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमार्फत सञ्चालन गरिनेछ।
प्रदेशअनुसार मतदान स्थल यस प्रकार निर्धारण गरिएको छ। कोशी प्रदेशमा मोरङको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ। मधेश प्रदेशका मतदाताले धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान गर्नेछन्। बागमती प्रदेशमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ।
त्यसैगरी गण्डकी प्रदेशका लागि कास्कीको पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशका लागि कैलालीको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान केन्द्र रहने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख, साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। आयोगले सबै सम्बन्धित मतदातालाई तोकिएका मतदान स्थलमा समयमै उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको भन्दै आयोगले सुरक्षा, व्यवस्थापन र प्राविधिक पक्षमा समेत उच्च सतर्कता अपनाइएको जनाएको छ।







