काठमाडौँ, २१ जेठ । राष्ट्रिय सभाको बैठक सोमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले आज आइतवारको बैठक अवरोध गरेपछि २९ मिनेटका लागि रोकिएको थियो । तर अवरोध कायमै रहेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
आजको बैठक सुरु भए लगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको बताए ।
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतको भू-भाग बङ्गलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका हुन् । यो विषयमा जवाफ दिन राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सरकारलाई ‘रुलिङ’ समेत गरेका छन् ।





