झापा, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदै छन्। पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए।
काठमाडौँबाट सोमबार झापा फर्किएका बालेन मंगलबार दिनभर आफ्ना क्षेत्रका मतदातासँग भेटघाटमा व्यस्त रहे। बुधबार बिहान भने उनले मोरङको उर्लाबारीबाट यात्रा सुरु गर्दै सुनसरी हुँदै उदयपुरसम्म पुग्ने कार्यतालिका बनाएका छन्।
उनको सचिवालयका अनुसार उर्लाबारीबाट बिहान ७ बजे प्रस्थान गरी पथरी र लेटाङ पुग्ने कार्यक्रम छ। लेटाङबाट करिब ५० मिनेटको यात्रापछि डायनिया पुग्ने र त्यसपछि विराटनगरको बरगाछी क्षेत्रमा कार्यकर्ता भेटघाट तथा छलफल गर्ने कार्यसूची रहेको छ।
विराटनगरबाट दुहबी हुँदै इटहरी पुगेर डेढ घण्टा छलफल गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा पुग्ने र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ लाग्ने तालिका रहेको सचिवालयले जनाएको छ।
बराहक्षेत्रपछि अन्तिम गन्तव्य उदयपुर तय गरिएको छ। बुधबार दिउँसो ४ बजेसम्म उनी उदयपुर पुग्नेछन्।
यो क्रममा बालेनले कार्यकर्तासँग भेटघाट, सम्भावित उम्मेदवारहरूसँग छलफल तथा मतदातासँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।






