काठमाडौं, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन आज केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ।
बैठकमा उम्मेदवार छनोटसँगै आगामी चुनावी रणनीति र समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने पार्टी स्रोतले जनाएको छ। उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरिएको समितिले विभिन्न क्षेत्रबाट आएका नामहरूको सूची पेश गर्ने तयारी गरेको छ।
पार्टीका नेताहरूका अनुसार यसअघि निर्वाचित भएका अधिकांश सांसदहरू सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिने सम्भावना बलियो देखिएको छ। सभापति रवि लामिछाने चितवन–२ बाट पुनः मैदानमा उत्रिने तयारीमा छन्।
यस्तै, पार्टीको भावी नेतृत्वका रूपमा अघि सारिएका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ। उपसभापति डिपी आर्याल काठमाडौं–९, डा. स्वर्णिम वाग्ले तनहुँ–१, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा–२ र प्रवक्ता मनीष झा सिराहा–३ बाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको बताइएको छ।
बैठकपछि औपचारिक उम्मेदवार सूची सार्वजनिक गरिने पार्टीले जनाएको छ।







