काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक प्रि–इलेक्सनको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजामा खुला, आदिवासी–जनजाति, दलित, मधेशी, थारु र मुस्लिम क्लस्टरबाट प्रतिनिधि चयन भएका छन्।
खुला क्लस्टरमध्ये रमेश प्रसाईंले १८ हजार २२३ मतसहित पहिलो स्थान हासिल गरेका छन्। प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो स्थानमा रहेकी छन्। त्यस्तै, टिका संग्रौला (ज्वाला), लिमा अधिकारी, समीक्षा बास्कोटा, विपिनकुमार आचार्य, क्रान्ति शिखा धिताल र प्रतिभा रावल क्रमशः शीर्ष नौमा परेका छन्।
आदिवासी–जनजाति क्लस्टरमा उत्तमबहादुर गुरुङ १६ हजार १२ मतका साथ पहिलो भएका छन्। सत्यकला राई, टासी लाजोम र मिलन लिम्बु क्रमशः दोस्रोदेखि चौथो स्थानमा परेका छन्।
दलित क्लस्टरमा विजय जैरुले सबैभन्दा बढी १३ हजार १४३ मत प्राप्त गरेका छन्। अमृता विक, सविना विश्वकर्मा, स्मृति सेन्चुरी, अविता नेपाली, सिता विश्वकर्मा, डा. रुपक विश्वकर्मा, खिमा विक र चन्द्रकला विक चयन भएका छन्।
मधेशी क्लस्टरमा पुनमकुमारी अग्रवाल शीर्ष स्थानमा परेकी छन् भने डा. अंकिता ठाकुर र ममता शर्मा दोस्रो र तेस्रो स्थानमा अटाएका छन्।
थारु क्लस्टरमा प्रेमलाल चौधरी पहिलो, चुमन चौधरी दोस्रो र पुष्पाकुमारी चौधरी तेस्रोलाई स्थान मिलेको छ।
मुस्लिम क्लस्टरमा समिना मिया अग्रस्थानमा रहेकी छन् भने अख्तर हुसैन र मोहम्मद हसरत अली क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।
रास्वपाको आन्तरिक मत परिणामले समावेशी प्रतिनिधित्व र क्लस्टर आधारित नेतृत्व चयनतर्फको नयाँ अभ्यासलाई संस्थागत गर्दै गएको संकेत दिएको छ।







